जनकपुर, ३१ असोज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शुक्रवार प्रदेश सुरक्षा निकायका उच्च अधिकारीहरूसँग विशेष छलफल गर्नुभएको छ ।
छलफलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूसँगै प्रदेश सरकारका प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।
बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशभित्र शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायहरूलाई अझ प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले नागरिकमा सुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने र जनतालाई प्रदान गरिने सेवा छिटो, छरितो तथा पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार हौं । त्यसैले जनताको विश्वास जित्ने गरी काम गर्नु हाम्रो प्रमुख दायित्व हो ।
बैठकमा प्रदेश सरकारका मन्त्रीद्वय महेश यादव र कनिश पटेलको पनि उपस्थिति रहेको थियो । उनीहरूले पनि सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी सबै निकाय समन्वयमा रहनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा हालका शान्ति सुरक्षाका अवस्था, सम्भावित चुनौतीहरू, तथा तिनीहरूको समाधानका उपायहरूमाथि विस्तृत छलफल गरिएको थियो ।














