काठमाडौं, २७ असोज । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायली सेना आईडीएफका एक अधिकारीले दिएको छ ।
ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले जानकारी दिए ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।














