काठमाडौं, २६ असोज । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियोमा देखिएका तेन्जेन दावालाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा अहिले प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईले भने ‘उहाँ हाम्रो कस्टडिमा हुनुहुन्छ । थप अनुसन्धान अघि बढाएका छौं । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए ।
त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो । प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् ।
सुटिङको क्रममा खिचिएको उक्त भिडियोमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनले गरेको प्रहरीले बताएका छन ।
टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् ।














