काठमाडौं, ७ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जे नजिक गएराति भएको झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण भएका छन् ।
झगडा भएको सूचना पाएपछि प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र प्रहरी जवान राज बहादुर ऐर घटनास्थलमा पुगेका थिए । तर, झगडामा संलग्न समूहले उनीहरूमाथि नै आक्रमण गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताए ।
आक्रमणका क्रममा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन् । दुवै जनालाई उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा भर्ना गरिएको थियो र उपचारपछि डिस्चार्ज गरिएको छ । प्रहरीले घटनास्थलमै दोलखाको मेलुङ नगरपालिका घर भई सूर्यविनायकमा बस्ने ३२ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरेको छ ।
त्यसपछि थप फौज परिचालन गरी अरू दुई जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हालैको जेन–जी आन्दोलनपछि अपराध गतिविधिमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमणका घटनाहरू बढ्दै गएको प्रहरी अधिकारीहरूको भनाइ छ । स्थानीयवासीहरूले समेत सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै समाजलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित हुन थालेको टिप्पणी गरेका छन् ।














