जनकपुर, २ असोज । जिल्ला प्रहरी कार्यालय धनुषामा रहेको दलित डेस्कबाट पछिल्ला वर्षहरूमा घरेलु हिंसा तथा बलात्कारसम्बन्धी उजुरी लिने क्रम देखिएको छ ।
प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ देखि २०८३/०८४ सम्म विभिन्न घटनासम्बन्धी उजुरी दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा घरेलु हिंसाका ७८ घटना दलित डेस्कमार्फत सेवा दिइएको थियो । ती सबै मुद्दा फछ्र्योट भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा घरेलु हिंसाका १११ घटना दर्ता भएकोमा सबै फछ्र्योट भएको विवरण छ । चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म घरेलु हिंसाका १४ र बलात्कारका ९ घटना दलित डेस्कमार्फत आएको जनाइएको छ । तीमध्ये ९ घटना फछ्र्योट भएको विवरणमा उल्लेख छ ।
दलित समुदायसँग सम्बन्धित हिंसा तथा विभेदका घटनामा पीडितलाई सहज रूपमा प्रहरी सेवामा पहुँच पु¥याउने उद्देश्यले दलित डेस्कमार्फत सेवा प्रदान हुँदै आएको धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्काले बताएका छन् ।
यसअघि संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले २०७८ पुस ८ गते प्रहरी कार्यालयहरूमा दलित डेस्क स्थापना गर्न निर्देशन दिएको थियो ।
त्यसपछि गृह मन्त्रालयले २०७८ पुस १६ गते प्रहरी प्रधान कार्यालयलाई दलित डेस्क गठन गर्न पत्राचार गरेको थियो ।















