काठमाडौं, १६ कात्तिक । विपक्षी दलहरूले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै सरकारसँग तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले संसद्लाई बेवास्ता गर्दै अध्यादेशमार्फत अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय र सरकारको अध्यादेश सम्बन्धी नीतिबारे छलफल भएको जानकारी दिए।
उनले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयासले संसद्को भूमिकामाथि प्रश्न उठाएको भन्दै तत्काल अधिवेशन बोलाउन सरकारसँग माग गरिएको बताए।
विपक्षी दलहरूले पछिल्ला राजनीतिक घटनाक्रम र शान्ति सुरक्षाको अवस्थाप्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन्।














