काठमाडौं, १६ कात्तिक । भारतीय सेनामा नेपाली युवाको गोर्खा भर्ती प्रक्रिया पुनः सञ्चालन गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले भारत सरकारले अग्निपथ योजना लागू गरेपछि रोकिएको गोर्खा भर्ती प्रक्रिया तत्काल खुलाउन माग गरेका छन्।
यसअघि पनि भर्ती प्रक्रिया सुचारु गर्न माग गर्दै पूर्वगोर्खा सैनिक तथा युवाहरूले विभिन्न चरणमा प्रदर्शन र पहल गर्दै आएका छन्। १२ अगस्ट २०२६ मा पोखरामा भर्ती खुलाउन मागसहित प्रदर्शन गरिएको थियो। त्यस्तै, १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणका क्रममा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउने विषयमा पहल गर्न आग्रह गरेका थिए।
तर, भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा समेत यस विषयमा ठोस सहमति हुन सकेको थिएन।
प्रदर्शनमा सहभागीहरूले गोर्खा भर्ती पुनः सुरु गर्नुपर्ने मागसँगै रोजगारीको अभाव झेलिरहेका नेपाली युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।














