काठमाडौं, २ असोज । देशभर मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश क्षेत्रमा बदली भएको छ। बागमती र गण्डकीका थोरै तथा कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कतिपय स्थानमा चट्याङसहित मध्यम वर्षा हुने तथा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। राति पनि कोशीसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।














