काठमाडैं १ असोज। आफूले दिएको राजीनामा स्वैच्छिक नभई बाध्यात्मक परिस्थितिको उपज भएको उनले बताएका हुन। ‘जेनजी’ आन्दोलनका क्रममा एक समूहले आफ्ना वृद्ध आमाबुबालाई घरभित्रै थुनेर जलाउने धम्की दिएपछि आफू पार्टीको जिम्मेवारीबाट राजीनामा दिन बाध्य भएको उनले प्रतिक्रिया दिए ।
उनका अनुसार घटना हुँदा घिमिरे र उनकी श्रीमती पार्टीको विधान महाधिवेशन प्रतिनिधि परिषद्को बैठकका लागि काठमाडौँमा थिए । विराटनगरस्थित घरमा उनका वृद्ध आमाबुबा मात्र थिए । सोही दिन प्रदर्शनकारीको एक समूहले एमाले नेता काजी बस्नेतको घर तोडफोड गरेपछि करिब चार पाँच सय जनाको भीड जीवन घिमिरेको घर भन्दै त्यसतर्फ लागेका थिए । यो खबर घिमिरेले साथीहरूबाट पाएका थिए ।
‘काजी बस्नेतको घर तोडिसकेपछि जीवन घिमिरे, जीवन घिमिरे भन्दै चार–पाँच सयको मान्छेको हुल उँभो लागे भनेर मलाई फोन आयो,’ घिमिरेले भने, ‘मैले बुबालाई फोन गर्न खोजेँ, फोन उठेन । पछि थाहा भयो, त्यहाँ पुगेको भीडले बुबाको फोनसमेत नियन्त्रणमा लिइसकेको रहेछ ।’
छिमेकीहरूलाई फोन गर्दा उनीहरूले ४०–५० जनाको समूह घरको आँगनभित्रै पसेको र बाँकीले घर घेरिसकेको जानकारी दिए । केही समयपछि घिमिरेलाई उनकै बुबाको मोबाइलबाट फोन आयो । फोनमा बुबाले भने, ‘उनीहरूले हामीलाई भित्रै थुनेर आगो लगाउने तयारी गरेका छन् । हामीलाई आगो लगाउनुअघि एकपटक छोरासँग कुरा गर्न देऊ भनेर मैले अनुरोध गरेको हुँ ।’ त्यसपछि घिमिरेले एक प्रदर्शनकारीसँग कुरा गर्ने मौका पाए । ‘सुरुमा एक पुरुषसँग कुरा गरेर सम्झाउन खोजेको थिएँ । त्यसपछि एक महिला प्रदर्शनकारी फोनमा आइन् र उनले पनि मलाई अल्टिमेटम दिइन् । तैँले पार्टीबाट राजीनामा गर्नुपर्छ ।’
पार्टी छाडे हामी छाड्छौँ, नभए तेरो घर र बुबाआमा हाम्रो नियन्त्रणमा छन्, हामी छाड्दैनौँ भनेपछि आफू आफू किंकर्तव्यविमूढ भएको उनले सुनाए ।
परिवारको जीवनरक्षा पहिलो प्राथमिकता भएको महसुस गरेपछि घिमिरेले तत्काल पार्टीका केही नेताहरूसँग फोनमा परामर्श गरे । नेताहरूले पनि ‘अहिलेलाई परिवारको जीवन महत्त्वपूर्ण हो, फेसबुकमा राजीनामा दिएर ज्यान जोगाउनुस्, बाँकी कुरा पछि मिलाउन सकिन्छ’ भन्ने सल्लाह दिएको उनले बताए ।
‘बुबाआमाकै जीवनरक्षाको कुरा हुन्छ, भोलि कुनै दुर्घटना भएपछि केही रहँदैन । फेसबुकमा राजीनामा दिएर केही हुँदैन, गर्दिनुस् भन्ने सल्लाह आयो’, घिमिरेले भने, ‘त्यसपछि मैले फेसबुकमा राजीनामा लेखेर पोस्ट गरिदिएँ ।’
घिमिरेले उक्त घटनालगत्तै राजीनामाको खण्डन गर्न खोजे पनि थप प्रतिक्रिया आउन सक्ने भन्दै नेताहरूले केही समय चुप लाग्न सल्लाह दिएको बताए । आफूले मंगलबारको कार्यकर्ता भेलामा पनि त्यही कुरा बताएको उनले जानकारी दिए । ‘सुरुमा स्वाभाविक रूपमा जिज्ञासाहरू उठे, तर मैले सबै यस्तो–यस्तो परिवेश र घटना भएको हो भनेपछि सबै साथीहरू कन्भिन्स हुनुभयो,’ उनले भने ।














