काठमाडौं, २५ भदौं । वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ ।
बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग आग्रह गरेको हो । सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।
हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए । गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ । उनी हाल धनगढीमा छन् । उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो ।
तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन् । यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ ।
वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन ।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए । त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।
बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन ।














