पर्सा, २४ वैशाख । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक विस्तार योजनाविरुद्ध स्थानीय घरधनी र व्यवसायीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको छ ।
गण्डकदेखि मितेरी पुलसम्म प्रदर्शन गर्दै उनीहरूले वैकल्पिक व्यवस्था बिना संरचना भत्काउन नहुने माग गरेका छन् । प्रदर्शनकारीले विकासको नाममा विनाश स्वीकार्य नहुने भन्दै मुख्य सडकलाई व्यवस्थित सहरी मार्गका रूपमा विकास गर्नुपर्ने बताए ।
पूर्व मेयर विजयकुमार सरावगीले वैज्ञानिक अध्ययन, उचित मुआब्जा र विकल्पबिना सडक विस्तार गर्न नहुने बताए । उनले वीरगञ्जको मुख्य सडक सहरको आर्थिक र ऐतिहासिक पहिचान भएकाले संरक्षणसहित विकास गर्नुपर्ने धारणा राखे ।
स्थानीय प्रशासनले सडक सीमाभित्रका संरचना हटाउन सूचना जारी गरेपछि प्रभावित पक्ष आन्दोलनमा उत्रिएको हो ।














