काठमाडौं, १७ असोज । कैलालीमा ड्यूटीमा खटिएका दुई प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइएको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद छन्। उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएको भनिएका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।














