काठमाडौं, २४ वैशाख । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका खोटाङ घर भई काभ्रेको पाँचखाल नगरपालिका–७ मा बस्दै आएका ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई मंगलबार पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले २०७६ असोज १ गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो । कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राई गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए ।
उनी काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुर क्षेत्रबाट पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताए । पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।














