काठमाडौं, २४ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूले विभिन्न देशमा रोजगारी दिलाइदिन्छु भन्दै पीडितहरूबाट करोडौँ रुपैयाँ असुल गरेको आरोप रहेको प्रहरीले बताए ।
पक्राउ परेकामध्ये काठमाडौं तारकेश्वर–८ का ३२ वर्षीय राजकुमार तामाङ, काठमाडौं–१४ का ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर–५ का ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी–१४ का ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी–४ का २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।
अनुसन्धानका अनुसार राजकुमारले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ, प्रकाशले अमेरिका पठाउने भन्दै १२ जनाबाट ९३ लाख रुपैयाँ, डिल्लीमानले जापानका लागि दुई जनाबाट १४ लाख ७५ हजार रुपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाउने भन्दै एक जनाबाट १२ लाख २५ हजार रुपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै तीन जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ ।
रकम बुझाएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।














