काठमाडौं, २४ वैशाख । बुटवलमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको छ ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सरकारले विकल्पबिना बस्ती हटाउने कार्य अघि नबढाउनुपर्ने माग राखिएको छ । प्रदर्शनकारीहरूले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतका भूमि आयोगका व्यवस्थाअनुसार लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।
यसैबीच, प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लगाउँदै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले प्रधानमन्त्री बालेनको राजीनामा माग गर्दै पनि प्रदर्शन गरेका छन् ।
राजमार्ग चौराहाबाट सुरु भएको जुलुस अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको संघर्ष समितिले जनाए । रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको र ८० हजारभन्दा बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।














