जनकपुर, १५ साउन । धनुषाको जनकपुरमा एक किशोरीको निर्मम हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय रामबाबु साह पक्राउ परेका छन् ।
उनी क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका बासिन्दा हुन् । हत्या भएकी अञ्जली यादव बटेश्वर गाउँपालिका–५ की १५ वर्षीया किशोरी हुन्, जो हाल जनकपुर उपमहानगरपालिका–४ मा भाडाको कोठामा आमा र आफन्तहरूसँग बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार, साहले सोमबार राति ११ बजे अञ्जली बसोबास गरिरहेको कोठामा पुगेर खुकुरी प्रहार गरेका थिए । घटनामा अञ्जलीको घटनास्थलमै मृत्यु भयो भने उनकी आमा आशादेवी यादव र मामाकी छोरी राधा यादव घाइते भए ।
घाइतेमध्ये आशाको अवस्था गम्भीर रहेको र उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । राधाको भने उपचारपछि डिस्चार्ज गरिएको छ ।
धनुषाका डिएसपी वरुणबहादुर सिंहले दिएको जानकारी अनुसार, अभियुक्त साह र घाइते आशा यादवबीच प्रेमसम्बन्ध रहेको थियो । उनीहरूबीच आर्थिक लेनदेन पनि भइरहेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आशा आर्थिक रुपमा सक्षम भएपछि साहलाई बेवास्ता गर्न थालेकी थिइन्, जसले साहलाई झनै आक्रोशित बनाएको देखिन्छ । प्रहरी अनुसन्धान अनुसार, रामबाबु साहले सन् २०७१ मा आफ्नै पत्नी सरिता देवी साहको हत्या गरेका थिए । त्यसपछि उनी जेल परेका थिए र पाँच वर्षपछि, २०७७ मा रिहा भएका थिए ।
यो दोस्रो पटक उनी हत्या अभियोगमा पक्राउ परेका हुन् । स्रोतका अनुसार, रामबाबु र आशाबीच सम्बन्ध रहेको थाहा पाएपछि आशाका श्रीमान् दिनेश यादवले विरोध जनाएका थिए ।
उक्त घटनापछि प्रहरीको मध्यस्थतामा छलफलसमेत भएको थियो र रामबाबुले जरिवाना तिरेर आशासँग बस्ने सहमति जनाएका थिए । तर पछि आशाले श्रीमान्लाई पुनः स्वीकार गरेपछि साहले आफूलाई बेवास्ता गरिएको महसुस गर्दै हत्याको योजना बनाएका थिए ।
धनुषाका एसपी नरहरी रेग्मीका अनुसार, हालसम्मको अनुसन्धानले यो घटनाको पछाडि अवैध सम्बन्ध र आपसी धोका मुख्य कारण भएको देखिन्छ । उनले भने, “हत्या योजनाबद्ध भएको छ, हालसम्म एकै जनाको संलग्नता देखिएको छ ।”
प्रहरीले अभियुक्तको साथबाट हत्या प्रयुक्त खुकुरी र सवारीसाधन बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।














