काठमाडौं, १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भएको छ ।
२०७५ साउन १० गते साथीको घर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । यस जघन्य घटनाले देशभर आक्रोश फैलिएको थियो ।
तत्कालीन विपक्षी दलका नेता तथा हालका गृहमन्त्री रमेश लेखकसहित सर्वसाधारण सडकमा उत्रिएका थिए । त्यसबेला लेखकले दोषीलाई संरक्षण दिएको आरोप तत्कालीन सरकारमाथि लगाएका थिए ।
तर विडम्बनापूर्ण रूपमा लेखक गृहमन्त्री बनेको एक वर्ष बित्दा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । अनुसन्धानका नाममा प्रहरी प्रशासनले १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरिसकेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) देखि लिएर जिल्ला प्रहरी कार्यालयसम्मले अनुसन्धान गरेका छन् । तर, अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन ।
सुरुवातमै अनुसन्धानमा त्रुटि भएका कारण घटना झन् रहस्यमय बनेको दाबी अनुसन्धान टोलीले नै गर्दै आएको छ । यसबीच, पाँच गृहमन्त्री फेरिइसके ।
रामबहादुर थापा (बादल) देखि रवि लामिछाने र बालकृष्ण खाण हुँदै हाल रमेश लेखकसम्म गृहमन्त्री भए । तर, निर्मलाको हत्यारा अझै अज्ञात छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले अब न्यायको आशा मरेको भन्दै सरकारप्रति गहिरो निराशा व्यक्त गरेकी छन् । “पहिले पहिले त प्रहरी आउँथे, अचेल त कोही पनि आउँदैनन्,“ उनले भनिन्, “अब कसैमा विश्वास छैन ।
छोरीले न्याय पाउने आशै सकियो । प्रहरी प्रशासन भने अनुसन्धान अझै जारी रहेको बताउँछ । कञ्चनपुरका डीएसपी सागर बोहराले “सूक्ष्म अनुसन्धान हुँदैछ“ भन्ने दाबी गरे पनि ठोस उपलब्धि अझै हात लाग्न सकेको छैन ।














