काठमाडौं, ७ साउन । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरूको प्रश्नहरूको केन्द्रमा परे ।
बैठकमा विशेषगरी देशको युवाशक्ति निरन्तर वैदेशिक रोजगारीतर्फ पलायन भइरहेको विषयमा सांसदहरूले चिन्ता व्यक्त गरे । सांसदहरूले सरकारको रोजगारी नीतिप्रति असन्तोष प्रकट गर्दै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गरेका थिए कि किन स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन ।
यसका प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले सरकारले रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको दाबी गर्दै भने, “स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरिनेछ र विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा समायोजन गरिनेछ ।
“ उनले कृषि, निर्माण, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा अवसर विस्तार गर्न लागिएको बताए । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको विषयमा पनि सरकार गम्भीर रहेको उल्लेख गरे ।
“द्वन्द्व पीडितलाई न्याय दिन र संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध छ,“ उनले संसदमा भने । उनको जवाफले केही सांसदहरू सन्तुष्ट देखिए पनि धेरैले कार्यान्वयन पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरे ।














