जनकपुर, २५ असार । मधेश प्रदेश सभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आज चौथो दिन पनि स्थगित भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संयुक्त रूपमा अवरोध गर्दै आएको कारण बैठक अगामी बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालको प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमानता र बिचौलियाहरूको प्रभाव रहेको गम्भीर आरोप लगाएका छन् ।
उनले मागहरू सम्बोधन नभएसम्म सदन सञ्चालन हुन नदिने स्पष्ट चेतावनी दिए ।














