काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि राप्रपाकी सांसद अनिषा नेपालीलाई बोल्ने समय दिएका छन् ।
उनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आजको बैठक बहिस्कार गर्ने बताइन् । दुवै दलका सांसदहरूले सदनलाई जानकारी गराएपछि दुवै दलका सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।














