काठमाडौ ३ जेठ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र अन्यत्र सारेको भन्दै सिराहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका छन्। यही जेठ ५ गतेदेखि सञ्चालन हुने स्नातक तह अन्तर्गत विभिन्न संकायका परीक्षाका लागि सिराहा क्याम्पसको परीक्षा केन्द्र झन्डै ५० किलोमिटर टाढा सारिएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका छन् ।
सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई दुःख दिने तथा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्नेगरी परीक्षा केन्द्र टाढा लगिएको भन्दै आपत्ति जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सिराहा क्याम्पसका सभापति पृथ्वी कुमार यादवले क्याम्पसको परीक्षा केन्द्र यसै क्याम्पसमा तोक्ने गरी भएको सहमतिलाई समेत उल्लङ्घन गर्दै बदनियतपूर्वक परीक्षा केन्द्र जेएस मुरारका क्याम्पसमा तोकिएकाले आन्दोलन गर्नुपरेको बताएका छन ।














