काठमाडौं, २१ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि हिन्दी जासुसी चलचित्रजस्तै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिमा अनिश्चितता र अन्योल बढेको बताए । कुन बेला पत्रकार पक्राउ पर्ने, कसैमाथि आक्रमण हुने वा कर्मचारी तथा नेतामाथि कस्तो कारबाही हुने भन्ने टुंगो नरहेको उनको भनाइ थियो ।
प्रचण्डले नयाँ पुस्ता र वर्तमान सत्तापक्षबाट पुराना राजनीतिक दलहरूको योगदानलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए । गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन पुराना दलहरूको महत्वपूर्ण भूमिका रहेको उनले दाबी गरे ।














