जनकपुर, २० कात्तिक । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको तयारी भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ।
पार्टीको संसदीय दलको भर्चुअल बैठकले सरकार छाड्ने निर्णय गरेसँगै नेकपाबाट सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।
यसअघि असोज ३० गते नेकपा एमालेले सरकार छाडेपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो। अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा नेकपाका मन्त्रीहरूले समेत राजीनामा दिएपछि सरकार थप संकटमा परेको छ।
निवर्तमान मन्त्री जवाहर कुशवाहाका अनुसार राजनीतिक निकास खोज्न र नयाँ सरकार गठनको बाटो सहज बनाउन राजीनामा दिइएको हो। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि नभई अल्पमतको अवस्थालाई समाधान गर्न यस्तो निर्णय गरिएको स्पष्ट पारे।
नेकपा आगामी सत्ता समीकरणमा कुन दलसँग सहकार्य गर्ने भन्ने विषय भने अझै टुंगिएको छैन। चार मन्त्रीको बहिर्गमनसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक दौड थप तीव्र बनेको छ।














