काठमाडौं, २० कात्तिक । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि ल्याइएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरी अध्यादेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने असरबारे ध्यानाकर्षण गराएको हो ।
सरोकारवालासँग पर्याप्त छलफल नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्मविपरीत हुने महासंघको ठहर छ । साथै, समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न पनि महासंघले माग गरेको छ ।
महासंघले आफ्ना माग सम्बोधन नभए छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । यसका लागि संसद्, संसदीय समिति तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।














