काठमाडौं, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूलो जनमत प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा शक्तिको घमण्ड बढेको भन्दै आत्मसमीक्षा गर्न चेतावनी दिएका छन् ।
चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले सेवा गर्न पठाएका प्रतिनिधि नै आफूलाई शक्तिशाली ठान्दै ठालू बन्न खोज्नु गलत भएको बताए । विगतका अपमानको बदला लिन प्रहरी तथा प्रशासनमाथि दबाब दिने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो ।
लामिछानेले ‘आफ्नै प्रहरी र सीडीओ छन्’ भन्ने मानसिकता त्याग्न आग्रह गर्दै जनमतलाई दम्भ देखाउने माध्यम बनाउन नहुने बताए । सञ्चारमाध्यम र समाजले देखाएका कमजोरी स्वीकार गरी आफूहरू जनताप्रति उत्तरदायी बन्नुपर्नेमा उनले जोड दिए ।














