काठमाडौं, १० मंसिर । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जीत निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो ।
नेपालले जीतका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए ।
यस्तै, भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।