काठमाडौँ, ५ मंसिर । साबिक विजेता अर्जेन्टिना सन् २०२६ मा हुने फिफा विश्वकपमा छनोट भएको छ ।
ब्युनस आयर्समा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ । खेलको ५५औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी क्षेत्रमा दिएको क्रसमा लाउटारो मार्टिनेजले गोल गरेका थिए ।
अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा २५ अंकसहित शीर्षस्थानमा छ । पेरु सात अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
यसैबीच अर्को खेलमा ब्राजिल र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन्। पाँच पटकको विश्वकप विजेता ब्राजिल यस बराबरीसँगै १८ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । उरुग्वे २० अंकसहित दोस्रो स्थानमा छ ।