काठमान्डौँ, १९ साउन । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ ।
काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो भने आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।
पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन ग¥यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको छ ।
नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुग्नुभएको थियो भने आजको जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ ।
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।














