जनकपुरधाम, २९ चैत । जनकपुरधाममा आगामी वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सहिद कप क्रिकेट कमिटीका संयोजक रोशन सिंहले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना र सहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घको सहकार्यमा हुन लागेको उक्त प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता रहने जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई दुई लाख एघार हजार नगद र ट्रफि र उपविजेता टिमलाई एक लाख एक हजार नगद र ट्रफि प्रदान गरिने आयोजक मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले जानकारी दिनुभयो।
निजी स्तरबाट २०७५ सालदेखि सुरु भएको उक्त प्रतियोगिता यस पटक मधेश प्रदेश सरकारले यसको अपनत्व लिएको छ ।
प्रतियोगितामा ३७ लाख रुपियाँ जति खर्च हुने जसमध्ये ३० लाख रुपियाँ प्रदेश सरकारले दिने र बाँकी रुपियाँ निजी स्तरबाट सहयोग उठाइने संयोजक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।