जनकपुर, १२ मङ्सिर । धनुषामा छठघाटमा रुङ्न बसेका ६० वर्षीय रामजतन यादवको हत्या गरी फरार भएका छिमेकीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
हत्याका आरोपित शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय जयकुमार यादव उर्फ बालक दासलाई मंसिर १२ गते जटही सीमाक्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत कात्तिक २९ गते धनी पोखरीस्थित छठघाटमा पूजासामग्री रुङ्न बसेका रामजतन यादव भोलिपल्ट बिहान मृत फेला परेका थिए। अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण जयकुमारले कस्सी प्रहार गरी उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यापछि भारततर्फ फरार भएका यादवलाई पक्राउ गर्न खोज्दा उनले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले चार राउन्ड गोली चलाउँदा उनको शरीरमा तीन गोली लागेको छ।
घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।














