जनकपुरधाम, १२ मंसिर । जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट समाजवादी युवा संघ, नेपाल मधेस प्रदेश समितिले युवाहरूमा राजनीतिक चेतना अभिवृद्धि, सामाजिक जागरण र नेतृत्व विकास गर्ने उद्देश्यले ‘युवा जागरण तथा नेतृत्व निर्माण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।
संघको मधेस प्रदेश समितिको विस्तारित बैठकले युवासँग जोडिएका समसामयिक समस्या तथा राजनीतिक र सामाजिक अवस्थाबारे छलफल गर्दै उक्त अभियान अघि बढाउने निर्णय गरेको हो।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, युवाहरूमा बढ्दै गएको निराशा, बेरोजगारीको समस्या, वैदेशिक रोजगारीका लागि भइरहेको युवाको पलायन तथा राज्यका विभिन्न तहमा युवाको राजनीतिक सहभागितालगायतका विषयमा छलफल भएको जनाइएको छ।
अभियानमार्फत मधेस प्रदेशका युवाहरूलाई संगठित गर्दै उनीहरूमा राजनीतिक तथा सामाजिक विषयप्रतिको बुझाइ बढाउने संघको लक्ष्य छ। साथै नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आवश्यक ज्ञान, सीप र क्षमता विकासमा जोड दिइने बताइएको छ।
समाजवादी युवा संघका मधेस प्रदेश अध्यक्ष कमलेश यादवका अनुसार अभियानले युवाहरूलाई सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्नेछ। युवाको आवाजलाई संगठित गर्दै उनीहरूलाई सचेत, सक्षम र जिम्मेवार नेतृत्वका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको उनले बताए।
संघले युवाको समस्या, सम्भावना र भूमिकालाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानअन्तर्गत युवाहरूबीच अन्तरक्रिया, राजनीतिक चेतनामूलक कार्यक्रम तथा नेतृत्व विकाससम्बन्धी गतिविधि सञ्चालन गर्ने लक्ष्य रहेको छ।














