जनकपुर, १२ मङ्सिर । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो।
जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताए।
त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई पुनः जीवन्त बनाउन टोली अयोध्या गएको उनको भनाइ छ।
टोलीले विवाहपञ्चमीको निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ।
जनकपुरधाममा प्रत्येक वर्ष सीता–राम विवाहको स्मरणमा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ।














