काठमाडौँ, १२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अभियान जारी रहेको बताएका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि बढाइएको जानकारी दिए। अन्य कम्युनिष्ट समूहसँग पनि एकताका लागि छलफल भइरहेको उनको भनाइ छ।
विगतका एकता प्रयास सफल हुन नसके पनि त्यसबाट पछि हट्न नहुने भन्दै प्रचण्डले कम्युनिष्ट एकताको अभियानलाई थप तीव्र बनाउने बताए। उनले विचार, सिद्धान्त र राजनीतिक आधारमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिसँग संयुक्त मोर्चा निर्माणका लागि पनि संवाद भइरहेको उनले जानकारी दिए।














