काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा लागू गर्दै पीडितलाई संरक्षण, दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सबै पक्षसँग आग्रह गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा बढ्दै गएको बताए ।
हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको संरक्षण तथा पुनःस्थापना, दोषीलाई कानुनी कारबाही र महिलाको सशक्तीकरण आवश्यक रहेको उनको भनाइ छ । यसका लागि तीनै तहका सरकार, नागरिक समाज, सञ्चारमाध्यम र आमनागरिकबीच सहकार्य हुनुपर्ने उनले जोड दिएका छन् ।
विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम अझ बढ्न सक्ने भन्दै प्रधानमन्त्री शाहले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान यस वर्ष ‘पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको हो ।














