काठमाडौं, २४ कार्तिक । काठमाडौं, २५ कार्तिक । जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते कारागार तथा बालगृहबाट भागेका कैदीबन्दीमध्ये अझै २ हजार ८९६ जना फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार फरार रहेकामध्ये २ हजार ६७६ जना नेपाली र २२० जना विदेशी नागरिक छन्। फरार कैदीबन्दीमध्ये सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १ हजार ३२ जना छन्। त्यस्तै, लागुऔषधसम्बन्धी ९३७, कर्तव्य ज्यानका ४९३, चोरीका २४३ र डाँकाचोरीका १३६ जना रहेका छन्।
विभागको अभिलेखअनुसार केन्द्रीय कारागारबाट भागेका १ हजार १३१ जना अझै सम्पर्कमा आएका छैनन्। त्यस्तै, महोत्तरीबाट ३०६, कैलालीबाट ३०५, नख्खुबाट २५३ र नवलपरासीबाट १७५ जना फरार छन्।
प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेका अनुसार फरार कैदीबन्दीको खोजी तथा पक्राउ अभियान जारी छ। उनका अनुसार दैनिकजसो फरार कैदीबन्दी पक्राउ परिरहेका छन्। जिल्लास्तरमा गठित टोली र सम्बन्धित प्रहरी कार्यालयले उनीहरूको खोजी गरिरहेको छ।
प्रहरीले पक्राउ परेका केही फरार कैदीबन्दी पछिल्ला दिनमा पुनः आपराधिक गतिविधिमा संलग्न रहेको अवस्थामा भेटिएको जनाएको छ। फरार विदेशी कैदीबन्दीमध्ये अधिकांश भारतीय नागरिक रहेकाले सीमा क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।














