जनकपुर, २४ कार्तिक । जनकपुर उपमहानगरपालिका-१४ मा लक्ष्मीपूजाको रात सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जना युवालाई पक्राउ गरेको छ।
पक्राउ परेका युवाहरूलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। यता, पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।
स्थानीय नेताहरूका अनुसार प्रहरीले कुनै ठोस कारणबिना युवाहरूलाई हिरासतमा राखेको र उनीहरूमाथि बल प्रयोग तथा यातना दिएको आरोप लगाइएको छ। पर्वको समयमा युवाहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले सार्वजनिक स्थानमा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
उनका अनुसार पक्राउ परेका युवाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले भने कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।














