महोत्तरी, २४ कार्तिक । महोत्तरीको बलवा नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै युवा नेतृत्वको चर्चा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेका युवा सञ्जीत राउत पछिल्लो समय स्थानीय राजनीतिक वृत्तमा चर्चामा आउन थालेका छन् ।
सामाजिक कार्य र युवामाझको सक्रियताका कारण परिचित हुँदै आएका राउत राजु फाउन्डेसनका अध्यक्षसमेत हुन् । उनले फाउन्डेसनमार्फत बलवा नगरपालिकाका विभिन्न क्षेत्रमा सामाजिक सेवा तथा जनहितसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै आएका छन् ।
समाजमा प्रत्यक्ष जोडिएर काम गर्दै आएका राउतले सामाजिक उत्तरदायित्व र जनसेवालाई प्राथमिकता दिँदै विभिन्न कार्यमा सक्रियता देखाउँदै आएका छन् । उनको यही सामाजिक सक्रियताले स्थानीय स्तरमा पहिचान बनाउन सहयोग गरेको बताइन्छ ।
विशेषगरी युवापुस्तामाझ उनको सामाजिक योगदान, राजनीतिक सोच र आगामी योजनालाई लिएर चासो बढ्दै गएको छ । सामाजिक सेवाबाट राजनीतिक नेतृत्वमा प्रवेश गर्ने तयारीमा रहेका राउतको सम्भावित उम्मेदवारीले बलवा नगरपालिकाको आगामी निर्वाचनलाई थप चासोपूर्ण बनाउने देखिएको छ ।
स्थानीय तहमा नयाँ सोच, ऊर्जा र विकासमुखी नेतृत्वको अपेक्षा भइरहेका बेला राउतको राजनीतिक सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा भइसकेको छैन ।














