काठमाडौं, २३ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले देशका प्रमुख शहरहरूमा नियमित रूपमा रैथाने मेला आयोजना गर्नुपर्ने बताएका छन् ।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ता मेला चाडपर्वमा मात्र सीमित नगरी नियमित सञ्चालन गर्नुपर्ने बताए ।
उनले दुर्गम क्षेत्रका किसानका उत्पादनलाई बजारसम्म पुर्याउन सरकारी निकाय, सञ्चारमाध्यम र सम्बन्धित संस्थाले प्रचारप्रसारमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
मेलाले स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा सहयोग पुग्ने बताउँदै सभामुख अर्यालले यस्ता कार्यक्रम काठमाडौं उपत्यकाबाहिरका ठूला शहरहरूमा समेत विस्तार गर्नुपर्ने धारणा राखे । मेलामा करिब २६ वटा स्टल रहेका छन् ।














