काठमाडौं, २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक क्षेत्रमा समेत विकृति बढेको बताएका छन् ।
सोमबार एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस तथा स्वार्थको प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा तोडफोड र आगजनी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता गतिविधिले समाज र राजनीतिलाई नकारात्मक दिशातर्फ धकेलिरहेको बताए ।
आफ्नो नेतृत्वको सरकारले विभिन्न स्थानमा सभाहल, रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गर्दै ओलीले विकासका संरचना नष्ट गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।














