काठमाडौं, २३ कार्तिक । तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीहरूले गाईको पूजा आराधना गरी मीठा परिकार खान दिएर मनाउँदैछन्।
हिन्दू धर्ममा गाईलाई पवित्र र मातासमान मान्ने परम्परा छ। दूध, गोबर र गहुँत धार्मिक तथा दैनिक जीवनमा उपयोगी हुने भएकाले गाईलाई गौमाताका रूपमा सम्मान गर्ने गरिन्छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गर्दा पुण्य प्राप्त हुने विश्वास छ। गाईको पुच्छरमा रक्षाबन्धन बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वाससमेत रहिआएको छ।














