जनकपुर, २१ कात्तिक । धनुषाको धनौजीमा वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘धनौजी प्रिमियर लिग’ (डीपीएल) सुरु भएको छ।
लगान युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन धनौजी विद्यालयको खेलमैदानमा गरिएको हो। स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा खेलप्रेमी, युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा मिश्रले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने बताए। उनले प्रतियोगिताले स्थानीय प्रतिभालाई पहिचान गर्दै क्रिकेट क्षेत्रको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
स्थानीयस्तरमा क्रिकेटको प्रवर्द्धन, युवाको प्रतिभा उजागर तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।














