काठमाडौं, २० कात्तिक । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले पदभार सम्हालेपछि पहिलो सार्वजनिक कार्यक्रम अन्तर्गत एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको सेवा शुभारम्भ गरेका छन्।
साइबर अपराध तथा डिजिटल ठगी नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रमा प्रहरी, बैंक, डिजिटल वालेट, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक र नियामक निकायले एउटै स्थानबाट समन्वय गरी काम गर्नेछन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत रहने यस केन्द्रले साइबर ठगीका घटनामा तत्काल प्रतिक्रिया दिई आर्थिक जोखिम न्यूनीकरण गर्नुका साथै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ।
साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबीसै घण्टा प्राप्त गर्न १२४७ आकस्मिक टेलिफोन नम्बरसमेत सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।














