काठमाडौं, २० कात्तिक । सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय सडक तथा पुल पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ ।
यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको छ ।
प्रतिनिधिसभाको विशेष समिति बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्र रहेर पुनर्निर्माण अघि बढाउन कोषको रकम परिचालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
सरकारले बजेटको निर्धारित सीमा नाघेर थप खर्च गर्नुपर्ने अवस्था आउन नदिन वैकल्पिक स्रोतका रूपमा उद्धार कोषको रकम प्रयोग गर्न लागेको हो ।
रकम उपलब्ध भएमा बहुवर्षीय ठेक्कामार्फत पुनर्निर्माण अघि बढाउन र निर्माण व्यवसायीलाई अग्रिम भुक्तानी दिन सहज हुने सरकारको अपेक्षा छ ।














