काठमाडौं, १६ कात्तिक । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिन निवेदन दिएको जानकारी गराएका हुन्। यसअघि होल्डमा राखिएको उनको नामबारे निर्णय गर्ने तयारी भइरहेका बेला थापाले उम्मेदवारी फिर्ता लिएका हुन्।
सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको थियो। थापामाथि जापानको स्थायी बसोबास अनुमति (पीआर), पारिवारिक पीआर, सम्पत्ति तथा स्थानीय तहमा सल्लाहकारका रूपमा काम गरेर पारिश्रमिक लिएको विषयमा उजुरी परेको थियो।
उनले आफूले जापानको आवासीय अनुमति त्यागिसकेको बताएका थिए भने श्रीमतीको पीआर र जापानमा सम्पत्ति रहेको स्वीकार गरेका थिए।














