काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन यथाशीघ्र आह्वान गर्न सरकारसँग माग गर्ने भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम र पत्रकारमाथि भएको प्रहरी धरपकडलगायतका विषय संसद्मा छलफल गर्न आवश्यक रहेको कांग्रेसको भनाइ छ।
कांग्रेस सांसद कृष्णबहादुर रोकायाले संसद् अधिवेशन बोलाउने विषयमा अन्य विपक्षी दलसँग समेत छलफल गरेर अघि बढ्ने जानकारी दिएका छन्।
पत्रकार पक्राउ, न्यायालयभित्र देखिएका विवाद र नेपाल प्रहरीको नेतृत्वसँग जोडिएका विषयले संसद्मा छलफल आवश्यक बनाएको उनले बताए।
समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति कांग्रेसले यसअघि नै आपत्ति जनाएको थियो। उक्त घटनाको पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समेत विरोध गरेका थिए।
यसै विषयमा साझा धारणा बनाउन आज दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बस्ने तयारी छ। गत असोज १६ गते संघीय संसद्को अघिल्लो अधिवेशन अन्त्य भएको थियो।














