काठमाडौँ, ११ कात्तिक । बंगालको खाडीबाट विकसित ‘अर्नब’ चक्रवातले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ। नेपालतर्फ पनि यसको असर पर्न सक्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातका कारण आन्ध्र प्रदेशमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतका विभिन्न क्षेत्रमा रेल तथा हवाई उडान रद्द गरिएको छ भने प्रभावित बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपालको मौसममा पनि चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार नेपाल प्रवेश गर्ने क्रममा चक्रवात कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत हुन सक्ने भए पनि सतर्कता आवश्यक छ।
यसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ। विशेषगरी बिहीबारदेखि शनिबारसम्म मौसममा बढी प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।
यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सतर्कता अपनाएको जनाइएको छ।
‘अर्नब’ नाम बंगलादेशले प्रस्ताव गरेको हो। बंगाली भाषामा यसको अर्थ ‘महासागर’ वा ‘समुद्र’ हुन्छ। उत्तरी हिन्द महासागर क्षेत्रमा विकसित हुने चक्रवातको नामकरणका लागि विभिन्न देशले प्रस्ताव गरेका नाम प्रयोग गरिन्छ।














