जनकपुरधाम, १० कात्तिक । धनुषाको हंसपुर नगरपालिका–४, भरही टोल निवासी प्रहरी जवान लक्ष्मेश्वर यादवले सरकारी निकाय तथा जिल्ला प्रहरी कार्यालय धनुषालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति जिल्ला प्रहरी कार्यालयले आपत्ति जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफूविरुद्ध गम्भीर, आपत्तिजनक र भ्रामक टिप्पणी गरेको जनाएको छ। कार्यालयका अनुसार यादवकी एक पारिवारिक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि निवेदन दिइएको थियो। पछि ती महिला काठमाडौं जिल्ला अदालतबाट विवाहको नाता कायम गरिसकेको अवस्थामा आफ्नो पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार उक्त घटनामा यादवले प्रहरीमाथि अनुचित दबाब सिर्जना गरेको र जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको आरोप लगाइएको छ। विज्ञप्तिमा प्रहरी संगठन र व्यक्तिगत मर्यादामाथि आँच पुग्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिइएको छ।
जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री साझा नगर्न आग्रह गर्दै यस्ता गतिविधि प्रचलित कानुनबमोजिम कारबाहीको विषय बन्न सक्ने चेतावनीसमेत दिएको छ।















