काठमाडौं, १० कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्। चक्रवातका कारण बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हावाहुरी र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको चक्रवात थप शक्तिशाली बन्न सक्ने मौसमविद्को अनुमान छ। यसको प्रभाव बुधबार रातिदेखि नेपालमा देखिन थाल्ने र शनिबारसम्म कायम रहन सक्ने बताइएको छ।
मौसमविद् माधुरी सिग्देलका अनुसार चक्रवातको प्रभावले चट्याङ, हावाहुरी र वर्षासँगै हिमाली क्षेत्रमा भीषण हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम बढ्न सक्छ।
मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित काठमाडौं उपत्यकामा विशेष सतर्कता अपनाउन सुझाव दिएको छ। साथै, सम्भावित वर्षाबाट धानबालीमा क्षति हुन नदिन बुधबारसम्म बाली भित्र्याउन किसानलाई आग्रह गरिएको छ।














