जनकपुर, ९ कात्तिक । धनुषा प्रहरीले गाँजाको पुडिया बनाएर बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ४५३ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमानको घरबाट ५५ पुडियामा राखिएको करिब ३६० ग्राम गाँजा बरामद गरिएको हो। उनलाई कात्तिक ८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठाका करिब ३५ वर्षीय रामललित साहको साथबाट १४ पुडियामा राखिएको करिब ९३ ग्राम गाँजा बरामद भएको छ। उनलाई कात्तिक ५ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।














