काठमाडौं, ९ कात्तिक । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्याएको छ।
बाढीले घर, खेतबारी, खाद्यान्न र पशुपन्छी नष्ट गरेपछि स्थानीय बासिन्दा अस्थायी आश्रयमा बस्न बाध्य भएका छन्। स्थानीयका अनुसार बस्तीका ५८ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्।
नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा २८ घरधुरीका परिवार बसिरहेका छन् भने अन्य परिवारले अस्थायी टहरा बनाएर आश्रय लिएका छन्।
बाढीले खेतीयोग्य जमिन र पशुपन्छीसमेत बगाएपछि स्थानीयको जीविकोपार्जनमा संकट परेको छ। प्रभावित परिवारले सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेको बताएका छन्।
सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने घोषणा गरेको स्थानीयले बताएका छन्। तर, घर र आम्दानीका स्रोतसमेत गुमाएका परिवारका लागि पुनःस्थापना र सामान्य जीवनमा फर्कन चुनौती देखिएको छ।














